f
s
f

Lorem ipsum dolor sit amet, consectetuer adipis cing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis theme natoque

Follow Me
TOP

साइकलले जोडेको हिमाल, पहाड र तराई –एक टुर गाइडको आँखाबाट देखिएको पूर्वी नेपालको साइकल यात्रा

– टुर गाइड सन्तोष राईको साइकल डायरी
म पूर्वी नेपालको सङ्खुवासभामा जन्मिएको हुँ। तर आफ्नै जन्मथलोका धेरै ठाउँहरू मेरा लागि पनि केवल कल्पनामा देखिएका गन्तव्य थिए। ती ठाउँका तस्बिर धेरै पटक हेरेको थिएँ, अरूको मुखबाट कथा सुनेको थिएँ, तर आफ्नै आँखाले हेर्ने अवसर भने जुरेको थिएन। त्यही अधुरो इच्छाले करिब १२ वर्षअघि एउटा सुन्दर यात्राको रूप लियो।
दुई जना बेलायती पर्यटक, एक फोटोग्राफर र म—चार जनाको सानो टोली लिएर हामी काठमाडौंबाट पूर्वी नेपालको यात्रामा निस्कियौँ। त्यो पनि साइकलमा। हाम्रो योजना थियो— साइकलमा पूर्वी नेपालको वास्तविक जीवन अनुभव गर्ने। त्यो यात्रा उनीहरूका लागि नयाँ देश चिन्ने अवसर थियो भने, मेरा लागि आफ्नै देशलाई नयाँ आँखाले हेर्ने अवसर। यात्रा तुम्लिङटारबाट सुरु भएर गुफापोखरी, ताप्लेजुङ, फिदिम, इलाम, चारआली, धरान हुँदै कोशीटप्पु वन्यजन्तु आरक्षसम्म पुग्ने थियो।


यो यात्रा केवल विदेशी पर्यटकलाई नेपाल घुमाउने कार्यक्रम मात्र थिएन। यो त आफ्नै देशलाई नयाँ दृष्टिले चिन्ने, प्रकृतिलाई अझ गहिरो रूपमा बुझ्ने र संस्कृतिको वास्तविक स्वाद महसुस गर्ने अवसर थियो। टुर गाइडका रूपमा मैले सधैँ एउटा कुरा विश्वास गरेको छु— पर्यटकलाई राम्रो होटल, स्वादिलो खाना वा प्रसिद्ध गन्तव्य देखाउनु मात्र पर्यटन होइन। उनीहरूलाई त्यो ठाउँको वास्तविक जीवनसँग जोड्नु नै साँचो पर्यटन हो। कुनै ठाउँलाई बुझ्न त्यहाँको हावा महसुस गर्नुपर्छ, स्थानीयसँग बसेर चिया पिउनुपर्छ, उनीहरूको परिकार चाख्नुपर्छ र उनीहरूको संस्कृतिलाई नजिकबाट अनुभव गर्नुपर्छ। मलाई सधैँ लाग्छ, कुनै ठाउँको सुन्दरता दृश्यमा मात्र सीमित हुँदैन। त्यो त्यहाँका मानिसहरूको मुस्कानमा, उनीहरूको बोलीमा, खेतबारीमा, भान्साको स्वादमा र अतिथि सत्कारमा लुकेको हुन्छ। यही अनुभूति विदेशी साथीहरूलाई दिलाउनु मेरो उद्देश्य थियो।

तुम्लिङटार: यात्राको पहिलो पाइलो
नेपाल आउने अधिकांश विदेशी पर्यटकको रोजाइ लुक्ला, एभरेष्ट वा अन्नपूर्ण हुन्छ। तर म उनीहरूलाई अर्को नेपाल देखाउन चाहन्थेँ— कम चर्चित तर उत्तिकै सुन्दर पूर्वी नेपाल।
काठमाडौंबाट उडेको विमान मकालु हिमालको सेतो शिखरमाथि पुग्दा सबैको नजर झ्यालबाहिर थियो। टल्किरहेका हिमशिखर, तल बगिरहेको अरुण नदी र हरिया पहाडहरूले यात्राको सुरुमै हामीलाई मोहित बनाइसकेका थिए। केहीबेरपछि विमान तुम्लिङटारमा अवतरण गर्यो। तुम्लिङटार मकालु क्षेत्रको प्रवेशद्वार हो। त्यहाँबाट पूर्वी नेपालको पहाडी जीवन सुरु हुन्छ। र यहीँबाट हाम्रो वास्तविक साइकल यात्रा पनि सुरु भयो।
सडक कहिले कच्ची, कहिले धुलाम्मे, कहिले उकालो त कहिले ओरालो थियो। तर यात्राको रमाइलोपन त्यही चुनौतीभित्र लुकेको थियो। विदेशी साथीहरू थाक्थे, फेरि मुस्कुराउँदै साइकल चढ्थे। उनीहरूका लागि यो नयाँ अनुभव थियो भने मेरा लागि उनीहरूलाई पूर्वी नेपालको कथा सुनाउने अवसर।

गुफापोखरी: जहाँ प्रकृतिले मलाई नयाँ पाठ सिकायो
तुम्लिङटारबाट खाँदबारी, चैनपुर र वसन्तपुर हुँदै हामी गुफापोखरी पुग्यौँ। समुद्री सतहबाट करिब २,९०० मिटर उचाइमा रहेको यो ठाउँ प्रकृतिको अनुपम उपहार जस्तै लाग्छ। पोखरीको शान्त पानीमा हिमालको छाया झल्किरहेको थियो। गुफापोखरी केवल एउटा सुन्दर पोखरी मात्र होइन, यो पूर्वी नेपालको अत्यन्तै महत्त्वपूर्ण संरक्षण क्षेत्र हो। लालीगुराँस को राजधानी यो क्षेत्र नेपालमा मात्र पाइने दुर्लभ काँडेभ्याकुरको मुख्य बासस्थान हो। साथै, यही वन क्षेत्रमा लोपोन्मुख रातो पाण्डा (हाब्रे) पनि पाइने भएकाले यसको जैविक विविधताको महत्त्व अझ बढेको छ। प्रकृतिप्रेमी, पक्षी अवलोकनकर्ता र वन्यजन्तु अनुसन्धानकर्ताका लागि गुफापोखरी विशेष आकर्षणको केन्द्र मानिन्छ।

गुफापोखरी पुगेपछि मलाई आफ्नो बाल्यकालको सम्झना आयो। सानो हुँदा हामी जंगललाई खेल्ने ठाउँ ठान्थ्यौँ। काँडेभ्याकुर देख्यो कि गुलेली हान्दै धपाउँथ्यौँ, राम्रो लागेका गुराँसका फूल देख्यो कि टिपिहाल्थ्यौँ। प्रकृतिलाई जोगाउनुपर्छ भन्ने सोच त्यतिबेला थिएन। तर त्यही ठाउँमा वर्षौँपछि विदेशी पर्यटकसँग उभिँदा मैले महसुस गरेँ— प्रकृति हाम्रो सम्पत्ति होइन, हाम्रो जिम्मेवारी रहेछ। विदेशी साथीहरू एउटा फूल पनि नछोई हेर्थे। जंगलको प्रत्येक आवाज ध्यान दिएर सुन्थे। उनीहरूको त्यो व्यवहार देख्दा मैले पर्यटनले सिकाएको सबैभन्दा ठूलो पाठ सम्झिएँ— प्रकृतिलाई माया गर्न सिक्नु।
त्यही साँझ हामी स्थानीय होमस्टेमा बस्यौँ। गाउँलेहरूले आफ्नै घरको सदस्यझैँ स्वागत गरे। स्थानीय परिकारको स्वाद, न्यानो मुस्कान र आत्मीय व्यवहारले विदेशी साथीहरू निकै प्रभावित भए। त्यो रात मलाई फेरि एउटा कुरा महसुस भयो— पर्यटकलाई होटलको विलासिता होइन, गाउँको साँचो आत्मीयता र प्रकृतिसँग बिताएका ती साना क्षणहरू नै जीवनभर याद रहन्छ।

ताप्लेजुङ: हिमालभन्दा सुन्दर मानिसहरू
भोलिपल्ट बिहान गुफापोखरीको चिसो हावासँगै हाम्रो यात्रा फेरि सुरु भयो। पोखरीको पानीमा घामको पहिलो किरण पर्दा सुनझैँ टल्किएको दृश्यले केहीबेर साइकल चलाउनै मन लागेन। प्रकृतिले आफैँ चित्र बनाएको जस्तो लाग्थ्यो। साइकलका पाइडल फेरि घुम्न थाले। उकालो काट्दै हामी कञ्चनजङ्घाको काखमा रहेको ताप्लेजुङतिर अघि बढ्यौँ।
ताप्लेजुङको नाम सुन्नासाथ धेरैलाई हिमालको सम्झना आउँछ। तर मेरो लागि ताप्लेजुङको पहिचान हिमाल मात्र होइन, यहाँका मेहनती मानिसहरू पनि हुन्। यहाँ पुगेर हामीले पाथीभरा क्षेत्रको दर्शन गर्ने अवसर पनि पायौँ। हिमालको काखमा बसेका शेर्पा बस्ती, याक चराउँदै गरेका मानिस, ढुङ्गाले बनेका घर र खेतबारीमा व्यस्त गाउँलेहरू देख्दा विदेशी साथीहरू निकै प्रभावित भए।


उनीहरू बारम्बार मलाई सोध्थे, “यति कठिन ठाउँमा मानिसहरूले कसरी जीवन बिताउँछन्?”
म मुस्कुराउँदै भन्थेँ, “यही कठिनाइ नै उनीहरूको शक्ति हो।”
माथिल्लो भेगमा शेर्पा समुदायको जीवन आफ्नै लयमा चलिरहेको थियो। याक, भेडा र बाख्रा पालन, आलु खेती र पहाडसँगको घनिष्ठ सम्बन्ध उनीहरूको दैनिकी थियो। अलि तल झर्दै जाँदा राई, लिम्बु, गुरुङ, क्षेत्री, बाहुन र दलित समुदाय मिलेर बसेका गाउँहरू भेटिन्थे। एउटै गाउँमा फरक–फरक जात, फरक संस्कृति, तर सम्बन्ध भने एउटै परिवारजस्तो। सायद, पूर्वी नेपालको सबैभन्दा सुन्दर पक्ष नै यही सामाजिक सद्भाव हो। विदेशी साथीहरूलाई सबैभन्दा अचम्म लागेको कुरा यही थियो।
गाउँका मानिसहरू सँगै काम गर्थे, सँगै खेतीपाती गर्थे, सँगै चाडपर्व मनाउँथे। कसैले कसैलाई पराइ ठान्दैनथ्यो। यही आत्मीयता नै पूर्वी नेपालको सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने मलाई सधैँ लाग्छ।


बाटोमा हिँड्दा हामीले परम्परागत जीवनका धेरै दृश्य पनि देख्यौँ। कतै गाउँमा धामी–झाँक्री चिन्ता बसिरहेका, कतै विरामीलाई बुढापाकाले चामलका दाना र भाले समातेर फुकिरहेका हुन्थे। कतै सत्यनारायणको पूजा चलिरहेको थियो, कतै गाउँलेहरू सामूहिक रूपमा खेतबारीमा काम गरिरहेका थिए।


त्यो १२ वर्षअघिको समयमा बाटोघाटो भर्खरै बन्दै थिए, गाडीको सुविधा खासै थिएन। नेपालको अधिकांश पहाडी भेगमा कोही गम्भीर बिरामी भयो भने अस्पताल पुर्याउने एक मात्र माध्यम स्थानीय उपाय हुन्थ्यो। दुईवटा लामा काठ वा बाँसमा तन्ना बाँधेर, झोलुङ्गो बनाएर, चार जना बलिया युवाहरूले आलोपालो काँधमा बोकेर उकालो-ओरालो घन्टौँ हिँड्दै बिरामीलाई अस्पताल लैजाँदै गरेको दृश्य हामीले बाटोमा पटक-पटक देख्यौँ। त्यो कठिन जीवनशैली र आपसमा सहयोग गर्ने त्यो सामूहिक भावना देख्दा विदेशी साथीहरू भावुक हुन्थे।

विदेशी साथीहरूका लागि यी दृश्यहरू कुनै चलचित्रभन्दा कम थिएनन्। उनीहरू फोटो खिच्थे, प्रश्न सोध्थे र हरेक संस्कृतिलाई सम्मानका साथ बुझ्न खोज्थे। त्यही बेला मलाई फेरि लाग्यो— पर्यटन भनेको दृश्य देखाउनु मात्र होइन, संस्कृतिलाई जोड्नु पनि रहेछ।

पूर्वी पहाडका हाटबजार

त्यसबेलाको यात्रामा हामीलाई सबैभन्दा रोमाञ्चक लागेको अर्को पाटो थियो— पूर्वी पहाडका हाटबजारहरू। हप्ताको एक दिन लाग्ने ती हाटबजारहरू केवल किनबेच गर्ने ठाउँ मात्र थिएनन्, गाउँलेहरूका लागि एउटा ठूलो उत्सव जस्तै हुन्थ्यो।

ताप्लेजुङ, पाँचथर र इलामका विभिन्न ठाउँमा लाग्ने हाटबजारमा मानिसहरू बिहानैदेखि डोकोमा घिउ, छुर्पी, सागपात, अलैँची र घरेलु सामानहरू बोकेर घन्टौँ पैदल हिँडेर आइपुग्थे। दूरदराजका साथीभाइ, नातागोता र आफन्तहरूसँग भेटघाट गर्ने, सुख-दुःख साट्ने र थकाइ मेट्न तोङ्बा र छ्याङको चुस्की लिँदै गफिने थलो थियो त्यो हाट। रंगीचंगी कपडामा सजिएका मानिसहरू, स्थानीय उत्पादनको सुगन्ध, र बजारभरि गुञ्जिरहेको हाँसो अनि रमाइलो वातावरणले हाटबजारलाई अचम्मकै जीवन्त बनाएको हुन्थ्यो। हाम्रा बेलायती साथीहरूका लागि त यो स्थानीय जीवनशैली र संस्कृतिको सबभन्दा जीवन्त झ्याल बनेको थियो।

फिदिम र इलाम: हरियो गलैँचामाथिको साइकल यात्रा
ताप्लेजुङबाट हाम्रो यात्रा पाँचथरतर्फ मोडियो। मेची राजमार्ग हुँदै फिदिम पुग्दा मौसम पनि बिस्तारै फेरिँदै गयो। पहाड उस्तै हरिया थिए, अनि बाटो पनि अझ सहज बन्दै गइरहेको थियो।
फिदिम पार गरेपछि इलाम प्रवेश गर्दा दृश्य नै बदलियो। सडकका दुवैतिर फैलिएका हरिया चिया बगानले यस्तो अनुभूति दिइरहेका थिए, मानौँ कसैले पहाडभरि हरियो गलैँचा ओछ्याइदिएको थियो। चियाका बोटबीचबाट आउने शीतल हावा, वरिपरि फैलिएको हरियाली र घुमाउरा सडकले यात्राको सबै थकान बिर्साइदियो।


कन्यामको लामो ओरालो आज पनि मेरो स्मृतिमा ताजै छ। त्यो ओरालोमा साइकल गुडाउनु भनेको स्वतन्त्रताको अनुभूति गर्नु जस्तै थियो। पाइडल धेरै चलाउनै पर्दैनथ्यो, साइकल आफैँ बगिरहेको जस्तो लाग्थ्यो। हावाले अनुहार छोइरहेको थियो, आँखाअगाडि हरिया चिया बगानहरू दौडिरहेका थिए। त्यही बेला टोलीकी बेलायती महिला सदस्यले आफ्नो साइकल रोकिन्। वरिपरि हेरेर मुस्कुराउँदै उनले भनिन्, “यो त कुनै चलचित्रको दृश्यभन्दा पनि सुन्दर रहेछ।”


उनको त्यो वाक्य सुनेपछि मैले पनि वरिपरि एकपटक फेरि नियालेँ। साँच्चै, कन्यामको त्यो हरियालीलाई शब्दमा भन्दा आँखाले धेरै राम्रोसँग बुझ्न सकिन्थ्यो। इलामको यात्रा मलाई अर्को कारणले पनि मन पर्छ। यहाँको चिया, यहाँको सुगन्ध र यहाँका मानिसहरूको सरलता छुट्टै छ। चिया बगानमा काम गरिरहेका स्थानीयसँग विदेशी साथीहरूले निकै चासोका साथ कुरा गरे। उनीहरूलाई थाहा पाउन मन थियो— यी हरिया पातहरू कसरी संसारभर पुग्ने चिया बन्छन्? स्थानीयहरू मुस्कुराउँदै आफ्ना कथा सुनाइरहेका थिए। भाषा मिल्दैनथ्यो, तर मुस्कानले नै सबै कुरा बुझाइरहेको थियो।

चारआली: पहाडबाट तराईतर्फ
इलामको चिसो हावा बिस्तारै पछाडि छुट्दै गयो। ओरालो झर्दै जाँदा मौसम पनि फेरियो, हावाको स्पर्श पनि बदलियो। साँझपख हामी झापाको चारआली पुग्यौँ। केही घण्टाअघि मात्रै गुराँसका जंगल र चिया बगानबीच साइकल चलाइरहेका हामी अहिले समथर तराईमा थियौँ। पहाडबाट तराई झर्दा प्रकृति मात्र बदलिँदैन, मानिसहरूको जीवनशैली, भाषा, खानपान र वातावरण पनि विस्तारै परिवर्तन हुँदै जान्छ। यही परिवर्तन नै पूर्वी नेपालको सबैभन्दा ठूलो सुन्दरता हो। हिमाल, पहाड र तराई— यी तीनै भूगोललाई एउटै यात्रामा महसुस गर्न सकिने भएकाले यो रुट मेरा लागि सधैँ विशेष रहनेछ। चारआली पुग्दा हामी सबै थाकेका थियौँ। किनकि यात्रा अब अन्तिम चरणतिर पुग्दै थियो, र हामीलाई अझै धरान र कोशीटप्पुको सुन्दर संसारले पर्खिरहेको थियो।

धरान: स्वाद, संस्कृति र मीठो बोली
चारआलीबाट पूर्व–पश्चिम राजमार्ग हुँदै हामी बिर्तामोड र इटहरी पार गरेर धरान पुग्यौँ। हिमाल र पहाड पार गरेर आएको हाम्रो टोलीका लागि धरान एउटा विश्रामस्थल मात्र थिएन, विविध संस्कृतिको सुन्दर संगम पनि थियो। धरानमा बुढासुब्बा, दन्तकाली मन्दिर घुमेर भेडेटारको चिसो हवामा तराईको दृश्य हेर्दा सबै थकान हराएको अनुभूति भयो। पूर्वेलीहरूको आत्मीयता र खानपिन संस्कृति अद्भुत छ। पहाडी भेगको तोङ्बाको स्वाद होस् या स्थानीय परिकार, हामी नेपाली खान र खुवाउन जानेका मान्छे हौँ।

विदेशी साथीहरूलाई सबैभन्दा मन परेको कुरा यहाँका मानिसहरूको व्यवहार थियो। धेरैलाई अंग्रेजी बोल्न आउँदैनथ्यो, तर मुस्कुराउँदै अभिवादन गर्थे, कुरा गर्न खोज्थे। भाषा नबुझे पनि आत्मीयता बुझ्न कुनै भाषा चाहिँदैन भन्ने कुरा उनीहरूले यहीँ महसुस गरे। मलाई पनि पूर्वेलीहरूको यही बानी सधैँ मन पर्छ— पाहुना देख्यो भने घरको मान्छेजस्तै व्यवहार गर्ने, सकेको सहयोग गर्ने र “फेरि पनि आउनुस् है“ भनेर मुस्कानका साथ बिदाइ गर्ने। पर्यटनको सबैभन्दा ठूलो सम्पत्ति यही मानवीय व्यवहार हो भन्ने मलाई लाग्छ।

कोशीटप्पु: जहाँ यात्रा पूर्ण भयो
धरानबाट चतरा हुँदै हाम्रो साइकल यात्रा कोशीटप्पुतर्फ अघि बढ्यो। बिस्तारै पहाड पछाडि छुट्दै गयो र अगाडि फैलिएको समथर भूभागले स्वागत गर्न थाल्यो। कोशीटप्पु पुग्दा मैले सधैँ एउटा छुट्टै अनुभूति गर्छु। सात वटा कोशी नदीको संगम, विशाल घाँसे मैदान, स्वतन्त्र रूपमा विचरण गरिरहेका अर्ना, टाढासम्म फैलिएको आकाश र चराचुरुङ्गीको मधुर आवाज— यी सबैले यो ठाउँलाई नेपालकै विशेष गन्तव्य बनाएका छन्। हामीले डुङ्गामा बसेर कोशीको सिमसार घुम्यौँ। साइबेरियालगायत टाढा–टाढाबाट आएका आगन्तुक चराहरू नजिकै उडिरहेका थिए। प्रकृतिको त्यो शान्त वातावरणमा केहीबेर सबै मौन भयौँ।


५–६ दिनसम्म हिमाल र पहाडका उकालो–ओरालोमा साइकल चलाएको शरीर थाकेको थियो, तर कोशीटप्पुको खुला मैदानमा पुगेपछि मन हलुका भयो। यहाँ आएपछि स्वतन्त्रताको अनुभूति हुन्छ। आँखाले टाढासम्म हेर्न सक्छ, मनले खुला सास फेर्न सक्छ। अर्को कुरा, यहाँका मानिसहरूको दैनिकीमा साइकल गहिरोसँग जोडिएको देखेर म सधैँ प्रभावित हुन्छु। बजार जान पनि साइकल, काममा जान पनि साइकल, घाँस काट्न पनि साइकल, साथीभाइ भेट्न पनि साइकल। यहाँ साइकल केवल सवारी साधन होइन, जीवनशैली हो।

विदेशी साथीहरूले देखेको नेपाल
यो यात्रा सुरु गर्दा विदेशी साथीहरूले नेपाललाई हिमालको देशका रूपमा मात्रै चिनेका थिए। तर यात्रा सकिँदासम्म उनीहरूको बुझाइ धेरै फराकिलो भइसकेको थियो। उनीहरूले हिमाल देखे, गुराँसका जंगल देखे, चिया बगानमा साइकल चलाए, शेर्पा बस्तीको जीवन बुझे, राई–लिम्बु समुदायको आत्मीयता महसुस गरे, तराईको न्यानोपन अनुभव गरे र अन्त्यमा चराचुरुङ्गीले भरिएको कोशीटप्पुमा पुगेर नेपालको अर्को रूप देखे। उनीहरू बारम्बार एउटै कुरा दोहोर्याइरहेका थिए, “नेपाल केवल हिमालको देश मात्र होइन रहेछ। एउटै यात्रामा यति धेरै प्रकृति, संस्कृति र जीवनशैली देख्न पाइन्छ भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ।”
उनीहरूको अर्को प्रतिक्रिया अझ रमाइलो थियो, “यहाँका मानिसहरूले हामीलाई पाहुनाजस्तो होइन, आफ्नै परिवारको सदस्यजस्तो व्यवहार गरे। यही कुरा हामी कहिल्यै बिर्सने छैनौँ।”
त्यो सुन्दा मेरो मन गर्वले भरिएको थियो।

टुर गाइडका चुनौती
आजभन्दा १२ वर्षअघिको समय अहिलेजस्तो सहज थिएन। सडकको अवस्था पनि अहिलेको जस्तो राम्रो थिएन र स्वास्थ्य सेवा पनि सबै ठाउँमा सहज उपलब्ध थिएन। विदेशी पर्यटकको सुरक्षा मेरो सबैभन्दा ठूलो जिम्मेवारी हुन्थ्यो। यदि दुर्गम बाटोमा कुनै दुर्घटना भयो भने के गर्ने? प्राथमिक उपचार कसरी गर्ने? अस्पतालसम्म कसरी पुर्याउने? यिनै प्रश्नहरू मनमा सधैँ घुमिरहन्थे।
अर्को चुनौती स्थानीय परिवेश पनि थियो। पूर्वी पहाडी भेगमा जाँड–रक्सीको चलन अलि बढी हुने र कतिपय मानिसहरू छिट्टै उग्र (ब्ननचभककष्खभ) हुने भएकाले विदेशी पर्यटक बोकेर जाँदा गाइडको रूपमा मलाई ठूलो तनाव हुन्थ्यो। ‘कतै केही भइहाल्छ कि’ भन्ने डर मनमा रहिरहन्थ्यो। सौभाग्यवश, हाम्रो यात्रा कुनै ठूलो समस्या बिना सफलतापूर्वक सम्पन्न भयो।

यात्राले सिकाएको पाठ
यो यात्राले मलाई एउटा कुरा स्पष्टसँग सिकायो— पर्यटन भनेको दृश्य बेच्ने व्यवसाय होइन, अनुभव बाँड्ने माध्यम हो। पर्यटकलाई केवल फोटो खिच्ने ठाउँ देखाएर हुँदैन, उनीहरूलाई त्यो ठाउँका मानिसहरूसँग जोड्नुपर्छ। उनीहरूले त्यहाँको खाना चाख्नुपर्छ, संस्कृति बुझ्नुपर्छ, स्थानीयसँग बस्नुपर्छ र प्रकृतिलाई महसुस गर्नुपर्छ। त्यसपछि मात्र उनीहरू नेपालबाट अविस्मरणीय सम्झना बोकेर फर्किन्छन्।

नयाँ यात्रीहरूलाई मेरो सुझाव
यदि कसैले यो रुटमा हाइकिङ, ट्रेकिङ वा साइकलिङ गर्ने सोच बनाउनुभएको छ भने मेरा केही सल्लाहहरू छन्ः
१. सम्झौता नगर्नुहोस्ः “माथि ट्रेकिङ त गएको हो नि” भनेर सामान्य छाता, प्लास्टिक ओढ्ने गल्ती नगर्नुहोस्। गतिलो ज्याकेट, राम्रो जुत्ता, पर्याप्त लुगा र पिउने पानी सधैँ साथमा राख्नुहोस्।
२. प्रकृतिको रक्षा गर्नुहोस्ः बाटोमा खाएका चाउचाउ, चकलेट, चुरोट वा पानीका प्लास्टिकका बोतलहरू जहाँतहीँ नफाल्नुहोस्। फोहोर आफूसँगै बोकेर सही ठाउँमा व्यवस्थापन गर्नुहोस्। यदि हामीले आजैदेखि प्रकृति जोगाउने मनसाय राख्यौँ भने मात्र आगामी २०० वर्षसम्म पनि हाम्रो देशलाई यसरी नै सुन्दर देख्न पाइनेछ।

यात्रा कहिल्यै सकिँदैन
आज त्यो यात्रा भएको १२ वर्षभन्दा बढी भइसक्यो। तर आज पनि गुफापोखरीको चिसो हावा, ताप्लेजुङका मेहनती मानिसहरू, कन्यामका हरिया चिया बगान, धरानको मीठो बोली र कोशीटप्पुको खुला आकाश सम्झिँदा लाग्छ, त्यो यात्रा अझै सकिएको छैन। साइकलका ती पाइडलहरू अझै मेरो मनभित्र घुमिरहेका छन्। म सधैँ एउटा कुरा भन्छु— घुम्नु भनेको सबैभन्दा महँगो तर निःशुल्क पाइने जिन्दगीको खुला किताब हो। यात्रा भनेको व्यवस्थित तरिकाले गरिएको एड्भेन्चर हो। लापरबाही गरियो भने जोखिम हुन्छ, तर सही मन र व्यवस्थित तयारीका साथ गरियो भने यसले सिकाउने पाठ कुनै विद्यालयले सिकाउन सक्दैन। यदि हामीले यात्रा गर्दा प्रकृतिलाई माया गर्न सिक्यौँ, स्थानीय संस्कृतिको सम्मान गर्यौँ र हिँडेको बाटोलाई जस्ताको तस्तै जोगाएर फर्कियौँ भने, यही सुन्दर नेपाल आगामी पुस्ताले पनि यही रूपमा देख्न पाउनेछ। सायद यही नै यात्राको सबैभन्दा ठूलो सफलता हो।

Post a Comment

You don't have permission to register