नेपालमा बढ्दै स्पोर्ट क्लाइम्बिङको आकर्षण
– पिक्चर नेपाल
उचाइ चुम्ने चाहना र चुनौतीलाई अवसरमा बदल्ने साहसिक खेल हो– स्पोर्ट क्लाइम्बिङ। पछिल्लो समय नेपालमा पनि यो खेलप्रति युवाको आकर्षण बढ्दै गएको छ। यही उत्साहलाई थप प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंमा आयोजित ‘टप रोप एन्ड लिड क्लाइम्बिङ च्याम्पियनसिप २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा भएको प्रतियोगिताले नेपालमा स्पोर्ट क्लाइम्बिङको सम्भावना र भविष्यलाई थप उजागर गरेको छ। साहसिक खेल मन पराउने युवाका लागि यो प्रतियोगिता आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर बनेको छ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री सुरेश श्रेष्ठले गरेका थिए। समापन समारोहमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले स्पोर्ट क्लाइम्बिङलाई प्रदेशभर विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा संयुक्त राज्य अमेरिकाको दूतावास, काठमाडौंका सार्वजनिक मामिला प्रमुख माइक हार्करलाई पनि विशेष सम्मान गरिएको थियो। सगरमाथाको सफल आरोहण गर्ने पहिलो अमेरिकी दूतावासका कूटनीतिज्ञ बनेको उनको उपलब्धिको कदर गर्दै उनलाई सम्मान गरिएको हो। उनको यो सफलताले नेपालमा साहसिक खेल र पर्वतारोहणप्रतिको आकर्षणलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

प्रतियोगितामा लिड क्लाइम्बिङतर्फ २२ जना र टप रोप क्लाइम्बिङतर्फ ६५ जना गरी ८७ खेलाडीले सहभागिता जनाएका थिए। महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा भएको प्रतियोगितामा खेलाडीहरूले आफ्नो सीप, धैर्य र साहस प्रदर्शन गरेका थिए।
लिड क्लाइम्बिङ पुरुषतर्फ साजन लामा प्रथम, सुलभ राई द्वितीय र तेन्जिङ बर्टिन राई तृतीय भए। महिलातर्फ स्वस्तिका चौधरी पहिलो, मनिषा बुढा मगर दोस्रो र रबिका महर्जन तेस्रो भइन्।
त्यस्तै टप रोप क्लाइम्बिङ पुरुषतर्फ नमल बोहोरा प्रथम, लाक्पा तेन्जिन शेर्पा द्वितीय र केमन क्षेत्री तृतीय भए। महिलातर्फ पेम्बा छोकी शेर्पा पहिलो, करुणा ठाकुर दोस्रो र नायुमी खनाल तेस्रो स्थान हासिल गर्न सफल भए।

नेपाल हिमाल र साहसिक पर्यटनका लागि विश्वभर परिचित देश हो। यही सम्भावनालाई खेलसँग जोड्दै स्पोर्ट क्लाइम्बिङले नयाँ पुस्तालाई प्रकृति, साहस र प्रतिस्पर्धासँग जोड्ने माध्यम बनिरहेको छ।
यस्ता प्रतियोगिताले खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्ने अवसर दिनुका साथै नेपालमा साहसिक खेलको नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ। चट्टानका भित्ताहरू चढ्दै नेपाली युवाले अब खेलकुदको नयाँ उचाइ पनि चुम्ने अपेक्षा गरिएको छ।


