f
s
f

Lorem ipsum dolor sit amet, consectetuer adipis cing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis theme natoque

Follow Me
TOP

रारा र योगः प्रकृतिको काखमा आत्माको यात्रा

-पिक्चर नेपाल

नेपालको उत्तर–पश्चिमी भूभागमा अवस्थित रारा ताल केवल एउटा ताल मात्र होइन, यो शान्ति, सौन्दर्य र आत्मिक अनुभूतिको जीवित केन्द्र हो। निलो आकाशको प्रतिबिम्ब बोकेको विशाल रारा, वरिपरिका हरिया डाँडाहरू, चिसो हावा र चराचुरुङ्गीको मधुर स्वर — यी सबै मिलेर यस्तो दिव्य वातावरण सिर्जना गर्छन्, जहाँ पुग्दा मानिस प्रकृतिको माध्यमबाट आफैँसँग भेटिन्छ।

आजको व्यस्त र तनावपूर्ण जीवनमा मानिसहरू मानसिक शान्तिको खोजीमा छन्। कोही शहर छोडेर हिमालतिर कुद्छन्, त कोही ध्यान र योगको शरणमा पुग्छन्। तर, जब योग र रारा एउटै यात्रामा जोडिन्छन्, त्यो अनुभव केवल एउटा भ्रमण रहँदैन — त्यो त आत्माको उत्सव बन्न पुग्छ।

प्रकृतिको काखमा योगको गहिराइ

योग केवल शरीर मोड्ने वा आसन बदलिरहने अभ्यास होइन; यो त शरीर, मन र आत्माबीचको गहिरो सन्तुलन हो। जब मानिस प्रकृतिको यो अनुपम काखमा बसेर लामो र गहिरो श्वास लिन्छ, तब उसले जीवनलाई एउटा नयाँ आयामबाट अनुभव गर्न थाल्छ।

राराको सेरोफेरोमा बिहानको समयमा ध्यानमा बस्दा सुनिने आवाज भनेकै हावाको सुस्त स्पर्श र पानीको हल्का तरंग मात्र हो। त्यो गहिरो मौनताले मनभित्रका अव्यवस्थित र अस्तव्यस्त सोचहरूलाई बिस्तारै शान्त बनाइदिन्छ। सूर्य उदाउँदै गर्दा तालको पानीमा पर्ने सुनौलो किरणसँगै गरिने प्राणायामले शरीरलाई मात्र होइन, मानवीय चेतनालाई पनि ऊर्जा दिन्छ। त्यहाँ योग अभ्यास गर्दा यस्तो अनुभूति हुन्छ, मानौँ स्वयम् प्रकृतिले नै तपाईँको आन्तरिक उपचार (Healing) गरिरहेको छ।

योग र ध्यानका  रारा नै किन?

धेरै योग केन्द्रहरू कृत्रिम शान्तिमा आधारित हुन्छन्, तर रारामा शान्ति प्राकृतिक रूपमै जीवन्त छ। रारालाई योग र ध्यानको उत्तम गन्तव्य मान्नुका मुख्य तीन कारणहरू यस प्रकार छः

शुद्ध र प्राणवान् वातावरणः राराको हावा अत्यन्त स्वच्छ छ। शहरको धूलो, धुवाँ र कोलाहलबाट कोसौँ टाढा रहेको यो क्षेत्र ध्यान र योगका लागि स्वर्ग सरह हो। यहाँको शुद्ध अक्सिजनले भरिएको वातावरणमा गरिने योगले मानसिक स्पष्टता र शारीरिक ऊर्जालाई सन्तुलित राख्छ।

प्राकृतिक मौनताको जादुः यहाँको सुनसान र शान्त वातावरणले ध्यानलाई स्वतः गहिरो बनाउँछ। प्रकृतिसँग एकाकार हुन कुनै कृत्रिम प्रयास नै गर्नु पर्दैन।

आध्यात्मिक अनुभूतिः हिमाल, जंगल र विशाल तालको यो त्रिवेणी संगमले मानिसलाई ब्रह्माण्डको विशालतासँग जोड्छ। योगको मूल उद्देश्य पनि यही हो — आफूलाई समष्टिसँग एकाकार गराउनु।

राराको एक बिहानः एक आत्मिक परिकल्पना

कल्पना गर्नुहोस् — बिहानको ठीक पाँच बजेको छ। आकाश हल्का निलो देखिन्छ र तालको सतहमा कुहिरो बिस्तारै तैरिरहेको छ। तपाईँ आँखा बन्द गर्नुहुन्छ। चिसो हावाले अनुहारलाई सुम्सुम्याउँछ। गहिरो श्वास लिँदा फोक्सो मात्र होइन, तपाईँको मन पनि प्रफुल्लताले भरिन्छ।

त्यसपछि सुरु हुन्छ सूर्य नमस्कार। प्रत्येक आसनसँगै शरीर हल्का हुँदै जान्छ। तालको किनारमा बसेर गरिने ध्यानले मनभित्र दबिएका वर्षौँदेखिका तनावहरू हिउँ पग्लिएझैँ पग्लिन थाल्छन्। शायद यही अभूतपूर्व अनुभवका कारण होला, धेरै यात्रुहरू राराबाट फर्किएपछि गर्वका साथ भन्छन्ः

“हामी केवल घुमेर मात्र आएनौँ, हामी त भित्रैबाट बदलिएर फर्कियौँ।”

यदि तपाईँ पनि आफ्नो जीवनको दौडधूपबाट थकित हुनुहुन्छ र आफ्नो आत्मालाई पुनः ऊर्जावान् बनाउन चाहनुहुन्छ भने, राराको यो बिहान तपाईँलाई पर्खिरहेको छ। ट्रेकिङ ब्याग र योगा म्याट बोक्नुहोस् र निस्कनुहोस् एउटा यस्तो यात्रामा, जहाँ पुगेपछि तपाईँलाई लाग्नेछ— “स्वर्ग कतै छ भने, यहीँ छ।“

योग पर्यटन

नेपालमा पछिल्ला वर्षहरूमा ‘योग ट्राभल’ (Yoga Travel) को अवधारणा तीव्र रूपमा बढ्दै गएको छ। मानिसहरू केवल फोटो खिच्न वा सामाजिक सञ्जालमा भिडियो हाल्न मात्र होइन, वास्तविक आत्मिक शान्ति खोज्न यात्रा गर्न थालेका छन्। रारा त्यसका लागि देशकै उत्कृष्ट र विशिष्ट गन्तव्य बन्न सक्छ। यो कुरालाई आत्मसात गर्दै वर्तमान सरकारले कर्णालीको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको छ।

यदि रारा क्षेत्रमा पर्यावरणलाई असर नपर्ने गरी नियमित योग शिविर, ध्यान केन्द्र र प्राकृतिक स्वास्थ्य पर्यटन (ध्भििलभकक त्यगचष्कm) को संस्थागत विकास गर्ने हो भने, यसले नेपालको पर्यटन क्षेत्रलाई नयाँ दिशा दिनेछ। विदेशी पर्यटकहरूका लागि समेत रारालाई एउटा अन्तर्राष्ट्रिय “हिमालयन मेडिटेशन डेस्टिनेशन“ का रूपमा स्थापित गर्न सकिने ठूलो सम्भावना छ र सरकारले पनि यसलाई थप पहल गर्न आवश्यक छ।

अन्त्यमा

रारा पुगेर योग गर्नु भनेको केवल शरीरलाई स्वस्थ बनाउनु होइन, यो त व्यस्तताका बीच हराएको आफूलाई फेरि एकपटक भेट्ने यात्रा हो। जहाँ न मोबाइलको घण्टीको हतारो हुन्छ, न शहरको पट्यारलाग्दो कोलाहल। त्यहाँ केवल प्रकृति हुन्छ, श्वास हुन्छ, र आत्माको शान्त संगीत हुन्छ। तपाईँको मन कतिन्जेल यो कङ्क्रिटको शहरमा निसास्सिएर बस्छ? एकपटक सोच्नुहोस् त, निलो कञ्चन राराको किनारमा, सल्लोका रुखहरूको सुसाइबीच जब तपाईँले आँखा बन्द गर्नुहुनेछ, तब तपाईँले सारा संसार बिर्सिनुहुनेछ। प्रकृतिको सौन्दर्य हेर्न मात्र होइन, मनभित्रको शान्ति महसुस गर्न पनि एकपटक रारा पुग्नैपर्छ।

Post a Comment

You don't have permission to register