दार्चुलाको गहना: श्री शैल्य शिखर मालिकार्जुन धाम
-पिक्चर नेपाल
सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित श्री शैल्य शिखर मालिकार्जुन धाम नेपालको महत्वपूर्ण धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक धरोहर हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण पहाडी क्षेत्रमा रहेको यो धामलाई नेपाल सरकारले देशको सातौँ राष्ट्रिय धामका रूपमा घोषणा गरेको छ।
‘मालिकार्जुन’ नाम माता पार्वती (मालिका) र भगवान शिव (अर्जुन) सँग जोडिएको छ।धार्मिक मान्यताअनुसार भगवान शिवले अर्जुन पर्वतमा वास गरेकाले यस पर्वतलाई अर्जुन पर्वत भनिएको हो। यही क्षेत्रमा माता मालिका (पार्वती) को पनि वास रहेकाले ‘मालिका’ र ‘अर्जुन’ शब्दको संयोजनबाट ‘मालिकार्जुन’ नाम रहन गएको विश्वास गरिन्छ।

स्कन्द पुराणको मानसखण्डमा पनि यस क्षेत्रको महत्त्व उल्लेख गरिएको पाइन्छ। पौराणिक कालदेखि नै यो क्षेत्र ऋषिमुनिहरूको तपोभूमि तथा देवताहरूको निवासस्थलका रूपमा परिचित रहेको जनविश्वास छ। स्थानीय किंवदन्तीअनुसार अभयराज पाण्डेयले भगवान मालिकार्जुनको ज्योतिर्लिङ्गको खोजी गर्ने क्रममा सपनामा दिव्य संकेत प्राप्त गरेका थिए। त्यसपछि उनी शैल्य शिखर पर्वतमा पुगेर ज्योतिर्लिङ्ग दर्शन गर्न सफल भएका थिए। त्यसयता यो स्थान विशेष आस्थाको केन्द्र बन्दै आएको छ।
यो धाम धार्मिक आस्थाको केन्द्र मात्र नभई सामाजिक एकता र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधार पनि हो। हरेक वर्ष आसार शुक्ल चतुर्दशी, कार्तिक शुक्ल त्रयोदशी, गौरा पर्व तथा अन्य धार्मिक अवसरहरूमा नेपाल र भारतबाट हजारौँ श्रद्धालुहरू यहाँ पुग्ने गर्छन्। यसले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई पनि बलियो बनाएको छ।
दुर्गम क्षेत्रमा रहेको भए पनि मालिकार्जुन धामले स्थानीय पर्यटन, अर्थतन्त्र र पहिचानलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। नेपाली संस्कृति, प्राकृतिक सौन्दर्य र जनविश्वासको प्रतीकका रूपमा रहेको यो धाम जीवनमा एकपटक अवश्य पुग्नुपर्ने पवित्र स्थल मानिन्छ।
श्री शैल्य शिखर मालिकार्जुन धाम सुदूरपश्चिमको गौरव र नेपालको अमूल्य सम्पदा हो।


