डान्सिङ क्वीन तेरिया मगरको रजतपटमा डेब्यु
काठमाडौँ, पिक्चर नेपाल।
अन्तर्राष्ट्रिय मञ्चमा नृत्यको जादु छरेर नेपालीहरूको शिर उच्च पारेकी ‘डान्सिङ क्वीन’ तेरिया मगर अब अभिनेत्रीको रूपमा ठुलो पर्दामा देखिँदैछिन्। आफ्नो शालीन स्वभाव र उत्कृष्ट प्रतिभाका कारण दर्शकमाझ सधैँ प्रिय रहेकी तेरिया अभिनित चलचित्र ‘मितज्यू’ आगामी जेठ ८ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ।

नृत्यमार्फत भावनाहरूलाई जीवन्त रूपमा प्रस्तुत गर्न अब्बल तेरियाको यो नयाँ यात्रालाई लिएर सिंगो चलचित्र उद्योग र दर्शकहरू माझ निकै उत्सुकता छ। डान्सिङ फ्लोरमा झैँ रजतपटमा पनि उनको अभिनयले बेग्लै छाप छोड्ने अपेक्षा गरिएको छ। कला क्षेत्रमा आफ्नै मिहिनेतले स्थापित तेरियाको यो नयाँ पाइला र चलचित्र ‘मितज्यू’ को प्रदर्शनलाई चलचित्र बजारले निकै सकारात्मक रूपमा हेरेको छ।



