f
s
f

Lorem ipsum dolor sit amet, consectetuer adipis cing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis theme natoque

Follow Me
TOP

मंचमा बोल्न डराउने व्यक्ति आज विश्व योगासन च्याम्पियनसिपका ‘जज’ : केदार नाथ बस्ताकोटीको १८ वर्षे प्रेरक योग यात्रा

—पिक्चर नेपाल
जीवनमा एउटा सानो मोडले कति ठुलो परिवर्तन ल्याउन सक्छ भन्ने जीवन्त उदाहरण हुनुहुन्छ— शान्त सौम्य स्वाभावका केदार नाथ बस्ताकोटी गुरु। आजभन्दा १८ वर्ष अगाडि टेलिभिजनको पर्दामा स्वामी रामदेवका योग सिविरहरु हेरेर सुरु भएको उहाँको लगाव, आज देश–विदेशका हजारौँ मानिसलाई मार्गनिर्देश गर्ने एउटा विशाल अभियानमा परिणत भइसकेको छ।

टिभीमा योग हेर्दा मानिसहरू स्वस्थ भएको र स्मरण शक्ति बढ्छ, ब्यक्तित्व बिकाश हुन्छ भनेर योगतर्फ आकर्षित हुनुभएको थियो। पछि स्वामी रामदेव नेपालको टुँडिखेलमा आउँदा उहाँ योग सिविरमा सहभागी हुनुभयो। लगत्तै योग प्रशिक्षण (ट्रेनिङ) मा जोडिनुभएका केदार गुरुले वि.सं. २०६६ सालदेखि नियमित रूपमा योग सिकाउन थाल्नुभयो। आज उहाँले निरन्तर रूपमा योग सिकाएको नै १७ वर्ष पूरा भइसकेको छ। यस अवधिमा उहाँले २० भन्दा बढी योग साधना केन्द्रहरूमा पुगेर नियमित रूपमा योग गराउँदै आउनुभएको छ।

स्टेजको डरदेखि विश्व मञ्चको ‘जज’ सम्म
योगमा लाग्नुअघि केदार गुरु धेरै मानिसका अगाडि उभिएर बोल्न निकै डराउनुहुन्थ्यो। प्रशिक्षणको दीक्षान्त समारोहमा पहिलोपटक मञ्चमा बोल्न लाग्दा डरले कान रातो भएको, मुटुको धडकन बढेको र के बोल्ने भन्ने मेलो मेसो नै नपाएको क्षण उहाँको मानसपटलमा अझै ताजा छ। तर, योग साधना र निरन्तरको अभ्यासले उहाँमा यस्तो आत्मविश्वास भर्यो कि, हिजो दुई जनाको अगाडि बोल्न डराउने मान्छे आज दशौँ हजारको जनसागरसामु विनाकुनै हिचकिचाहट बोल्न र योग सिकाउन सक्ने हुनुभएको छ।

केदार गुरु भन्नुहुन्छः
“योगमा मेरो व्यक्तिगत वृद्धि (Growth) भनेकै सार्वजनिक रूपमा बोल्न सक्ने आत्मविश्वासको विकास हुनु हो। सुरुमा त सामान्य रोग निको पार्न र सधैँ स्वस्थ रहन मात्र योग गरिन्छ भन्ने सोचेको थिएँ। तर, साधनाको गहिराइमा पुग्दै जाँदा थाहा भयो— योगले शारीरिक मात्र होइन, मानसिक र आध्यात्मिक रूपमा पनि स्वस्थ बनाउँछ। यसले मानिसमा सकारात्मक चिन्तन र सोचको विकास गराउँछ, र कुनै देखावटी विना नै अन्तस्करणदेखि सात्विक बन्ने प्रेरणा दिन्छ।”

बदलिँदो परिवेश र युवा पुस्तामा आकर्षण
केदार गुरुले योग यात्रा सुरु गर्दाको समय र अहिलेको परिवेशमा आकाश–जमिनको फरक छ। सुरुवाती दिनहरूमा योग क्षेत्रमा युवाहरूको उपस्थिति एकदमै न्यून हुन्थ्यो। सरकारी तहबाट कुनै सहयोग थिएन; आफ्नै हिसाबले निःशुल्क रूपमा साधना गर्ने र अरूलाई गराउने चलन थियो।

तर आज समय फेरिएको छ। अहिलेका युवाहरूमा आसन, ध्यान र योगप्रति तीव्र आकर्षण बढेको छ। यसको मुख्य कारण योग (विशेष गरी आसन) लाई अन्तर्राष्ट्रिय स्तरमा ’खेल’ को रूपमा विकास गरिनु हो। साथै, modern समयको अस्तव्यस्त खानपान र जीवनशैलीका कारण पनि मानिसहरू स्वस्थ जीवनको खोजीमा योगतर्फ मोडिएका छन्। योगको मार्गमा लागेपछि मानिसको संगत सात्विक हुन्छ, भोजन सात्विक हुन्छ र कर्महरू पनि स्वतः सकारात्मक बन्दै जान्छन्।

सामाजिक सेवा र स्वरोजगारको दर्बिलो माध्यम
अहिले धेरैले योगलाई सम्मानित पेसा र व्यवसायको रूपमा अगाडि बढाएका छन्। अन्य क्षेत्रमा भौँतारिनुभन्दा योग कर्म रोज्नु निकै राम्रो भएको केदार गुरुको बुझाइ छ, किनकि यसमा आम्दानी र इज्जत दुवै राम्रो छ। हाल बानेश्वरमा फर्निसिङ व्यवसाय सञ्चालन गर्दै आउनुभएका केदार गुरु स्वयंले भने योगलाई विशुद्ध सामाजिक सेवाको रूपमा अगाडि बढाउनुभएको छ। तर, समाजसेवामा लाग्दा पनि अप्रत्यक्ष रूपमा आफ्नो व्यवसाय र प्रतिष्ठामा ठुलो लाभ पुगेको उहाँको अनुभव छ।

उहाँका अनुसार योगले समाजका हरेक वर्गलाई फरक र महत्त्वपूर्ण फाइदा पुर्‍याउँछः

  • बालबालिकाका लागिः यो आसनहरू सिकाउने, रमाइलो गर्ने र सत्मार्ग (सही बाटो) मा लाग्ने माध्यम हो।
  • युवाहरूका लागिः कुलतबाट टाढा रहने अचुक अस्त्र र आत्मनिर्भर बन्दै आम्दानीको बलियो स्रोत खडा गर्ने प्लेटफर्म हो।
  • रोगी र स्वस्थका लागिः योग रोगीहरूका लागि उपचार र स्वस्थहरूका लागि जीवन पद्धति हो, यसले मानिसलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ बनाउँछ।

विशेष गरी युवा पुस्ताका लागि योग एउटा वरदान साबित हुन सक्छ। साधारण जागिरको तुलनामा योग सिकाएर निकै राम्रो आम्दानी गर्न सकिन्छ। यति मात्र होइन, योग प्रशिक्षक बनेर देश–विदेशका विभिन्न स्थानहरू भ्रमण गर्ने (पेसागत रूपमै ट्राभल गर्ने) र नयाँ–नयाँ अनुभवहरू बटुल्ने सुनौलो अवसर मिल्छ।

योग पर्यटन र समृद्ध नेपालको सपना
अहिले विश्वभरि ‘योग पर्यटन’ (Yoga Tourism) को अवधारणा तीव्र रूपमा विकास भइरहेको छ। विदेशीहरू नेपालको पवित्र भूमि र हिमालयको काखमा आएर योग गर्न पाउनुलाई ठुलो अहोभाग्य मान्छन्। केदार गुरु आफ्नो एउटा अन्तर्राष्ट्रिय अनुभव सुनाउनुहुन्छः

”हामी जब अहमदाबादमा भएको ‘वल्र्ड च्याम्पियनसिप’ मा भाग लिन गएका थियौँ, त्यहाँ योगमा विश्वविद्यालय स्तरको डिग्री हासिल गरेका र योग तथा अध्यात्ममा समर्पित मानिसहरूले समेत आफूलाई जीवनमा कम्तीमा एक महिना नेपालको हिमालय क्षेत्रमा आएर योग गर्ने तीव्र इच्छा रहेको सुनाएका थिए।”

यदि नेपाल सरकारले योग क्षेत्रलाई रणनीतिक रूपमा प्रवद्र्धन गर्ने हो भने, नेपाल साच्चिकै योगकै माध्यमबाट समृद्धिको बाटोमा अगाडि बढ्न सक्छ। सरकारको ’स्वस्थ नेपाल र समृद्ध नेपाल’ को नारालाई साकार पार्ने सबैभन्दा सहज र उपयुक्त माध्यम नै योग साधना हो।

सुरुका दिनमा राष्ट्रिय र दक्षिण एसियाली खेलहरू खेल्दा त्यहाँका जज (निर्णायक) हरूलाई देखेर अचम्म मान्ने केदार गुरु, आफ्नो १०–१२ वर्षको कडा मिहिनेतपछि विभिन्न विद्यालय तथा राष्ट्रिय योग खेलकुद प्रतियोगितामा निर्णायक (जज) को भूमिका निर्वाह गर्दै, सन् २०२५ मा भारतको नयाँ दिल्लीमा भएको दोस्रो एशियन योगासन प्रतियोगिता हुँदै २०२६ मा आयोजित ’प्रथम विश्व योगासन प्रतियोगिता’ (First World Yogasan Championship 2026) मा जजको भूमिका निर्वाह गर्न सफल हुनुभयो। हाल बागमती प्रदेश योग खेलकुद संघको अध्यक्ष समेत रहनुभएका उहाँको खेलाडीदेखि व्यवस्थापक हुँदै अन्तर्राष्ट्रिय जजसम्मको यो रूपान्तरणकारी यात्रा आफैँमा एउटा ठुलो उपलब्धि हो।

राज्यले गर्नुपर्ने पहलहरू
निजी क्षेत्रले आफ्नो ठाउँबाट योगको विकासमा काम गरिरहेकै छ, तर अब सरकारी तवरबाट यसको नियमन र विशिष्ट प्रवद्र्धन हुन जरुरी छ। केदार गुरुका अनुसार नेपालमा योगको छुट्टै ‘योग विश्वविद्यालय’ बन्नु आवश्यक छ। त्रिभुवन विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयमा योगको पढाइ सुरु हुनु सकारात्मक कदम भए पनि एउटा स्वायत्त योग विश्वविद्यालय स्थापना गर्न सकिएमा विश्वभरिका युवाहरू अध्ययनका लागि नेपाल भित्रिनेछन्।

यसका साथै, नेपालका सुन्दर डाँडाकाँडाहरूमा मौलिक वास्तुकला र परम्परा झल्कने ‘कुटी’ शैलीका शान्त रिट्रिट सेन्टर (Retreat Centers) र योग हलहरू सरकारले बनाइदिनुपर्छ। यस्ता प्राकृतिक स्थानहरूले विदेशी पर्यटकहरूलाई आकर्षित गर्नेछन् र नेपाललाई विश्वकै योग राजधानी बनाउन मद्दत पुग्नेछ।

निष्कर्ष
‘योग’ को शाब्दिक अर्थ नै ‘जोडिनु’ हो— आत्मालाई परमात्मासँग, व्यक्तिलाई समाजसँग र स्वास्थ्यलाई जीवनसँग जोड्नु हो। केदार नाथ बस्ताकोटी गुरु सम्पूर्ण युवाहरूलाई आह्वान गर्दै भन्नुहुन्छः

“आफ्नो जीवन यात्रालाई योगमय बनाउनुहोस्। योगमा जोडिनुस्, जहाँ कुलतमा फस्ने सम्भावना शून्य हुन्छ। यसले तपाईँलाई सात्विक बनाउँछ, सत्मार्गमा हिँडाउँछ, र देश–विदेश घुम्ने अवसरका साथै एउटा सम्मानित र सफल जीवनको सुनिश्चितता दिन्छ।”

Post a Comment

You don't have permission to register