पतञ्जलीको जन्मभूमि नेपालको विश्व योग मञ्चमा सानदार विजय: १ स्वर्णसहित कुल ८१ पदक
—पिक्चर नेपाल
विश्व योगको मञ्चमा नेपालले एउटा ठूलो र ऐतिहासिक सफलता पाएको छ। भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म भएको प्रथम विश्व योग च्याम्पियनसिपमा नेपाली टोलीले सानदार प्रदर्शन गरेको छ। संसारका ७९ देशका खेलाडीहरू सहभागी यस ठूलो प्रतियोगितामा नेपालकी दुर्गा पन्तले स्वर्ण पदक (Gold Medal) जितेर इतिहास रचेकी छन्।
कम स्रोत-साधन र आफैंले गरेको अभ्यासका बीच पनि नेपाली खेलाडीहरूले विश्व खेलकुद जगत्लाई नै अचम्ममा पार्ने प्रदर्शन गरे। नेपालले प्रतियोगितामा १ स्वर्ण, ५९ रजत (Silver) र २१ कास्य (Bronze) सहित कुल ८१ पदक जित्यो। कुल पदक संख्याका आधारमा नेपाल विश्वमै दोस्रो स्थानमा रहन सफल भएको छ। स्वर्ण पदकका आधारमा भने नेपाल पाँचौं स्थानमा रह्यो।
प्रतियोगितामा आयोजक भारत १०२ स्वर्णसहित पहिलो, जापान दोस्रो, अर्जेन्टिना तेस्रो र सिंगापुर चौथो स्थानमा रहे। सहभागी ७९ मध्ये केवल १० देशले मात्र स्वर्ण पदक जित्न सकेका थिए। यस्तो कडा प्रतिस्पर्धामा नेपालले अमेरिका, रुस र इन्डोनेसिया जस्ता शक्तिशाली देशहरूलाई पछि पार्दै शीर्ष ५ मा स्थान बनाउनु सम्पूर्ण नेपालीका लागि गौरवको कुरा हो।
नेपालमा बढ्दो योग संस्कृति र आकर्षण
दुर्गा पन्तको यो ऐतिहासिक स्वर्ण पदक र नेपाली टोलीको विजयले नेपालमा तीव्र गतिमा बढ्दै गएको ‘योग संस्कृति’ (Yoga Culture) लाई नयाँ उचाइ दिएको छ। नेपाली समाजमा अहिले योग केवल साधुसन्तको साधना मात्र रहेन। यो त आधुनिक जीवनशैलीको एउटा महत्त्वपूर्ण हिस्सा र युवा पुस्ताको रोजाइ बनिसकेको छ।
गाउँदेखि सहरसम्म खुल्दै गएका योग केन्द्रहरू, विद्यालय र कलेजहरूमा योगलाई दिइएको प्राथमिकता, र मानिसहरूमा बढ्दै गएको स्वास्थ्य चेतनाले नेपालमा योग संस्कृति बलियो हुँदै गएको देखिन्छ। यो अन्तर्राष्ट्रिय सफलताले नेपाली युवाहरूलाई योग क्षेत्रमै आफ्नो करियर बनाउन ठूलो प्रेरणा दिनेछ।

‘योग पर्यटन’ (Yoga Tourism) को सुनौलो अवसर
नेपाल प्रकृति र अध्यात्मको सुन्दर संगम स्थल मात्र नभएर हिमालयको काख, पवित्र नदीहरू र शान्त वातावरणका कारण आदिकालदेखि नै ऋषिमुनिहरूको तपस्या भूमि रहँदै आएको छ। विश्व च्याम्पियनसिपको हालैको ऐतिहासिक सफलतासँगै अब नेपालमा ‘योग पर्यटन’ लाई देशको आर्थिक समृद्धिको बलियो माध्यम बनाउने एउटा सुनौलो अवसर आएको छ। पोखरा, लुम्बिनी र हिमाली क्षेत्रहरू जस्ता विश्वकै उत्कृष्ट, शान्त र सुन्दर वातावरण हुनुका साथै योग दर्शनलाई पहिलो पटक सूत्रबद्ध गरेर ‘योगसूत्र’ लेख्ने महर्षि पतञ्जलीको जन्म र साधना भूमि (विशेषगरी नेपालको अर्घाखाँची र आसपासको क्षेत्र) यही हुनुले हाम्रो ऐतिहासिक साखलाई अझ बलियो बनाएको छ। यसरी योगको सुरुवात भएको भूमि र प्राचीन ज्ञानको केन्द्र हुनुको गौरवमय पहिचानसँगै, विश्व मञ्चमै पदक जितेर नेपाली खेलाडी र गुरुहरूले आफ्नो उच्च दक्षता प्रमाणित गरिसकेका छन्। अहिले संसारभरका मानिसहरू मानसिक शान्ति र शारीरिक तन्दुरुस्तीका लागि ‘वेलनेस टुरिजम’ (Wellness Tourism) तर्फ आकर्षित भइरहेको सन्दर्भमा, नेपालले यो महान् विरासतलाई उजागर गर्दै आफूलाई ‘विश्वको योग केन्द्र’ का रूपमा ब्रान्डिङ गर्न सके संसारभरका लाखौं पर्यटकहरूलाई आकर्षित गरी देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउन सक्छ।

राज्यको दायित्व र आगामी बाटो
नेपाली खेलाडीहरूले आफ्नै प्रयास र सीमित तयारीमा पनि देशलाई विश्वको शीर्ष स्थानमा पुर्याएर आफ्नो जिम्मेवारी पूरा गरेका छन्। अब पालो सरकार र सरोकारवाला निकायको हो। योग क्षेत्रको संरक्षण, विकास, राम्रो पूर्वाधार निर्माण र खेलाडीहरूलाई प्रोत्साहन गर्ने नीति ल्याउन सके नेपालले आगामी दिनमा यो भन्दा पनि ठूला सफलताहरू हासिल गर्ने निश्चित छ। दुर्गा पन्तको स्वर्ण पदक केवल एउटा पदक मात्र होइन, यो नेपालको प्राचीन ज्ञान र सामर्थ्यको विश्वव्यापी सम्मान हो। यस ऐतिहासिक जितका लागि सम्पूर्ण खेलाडी र नेपाली योग समुदायलाई हार्दिक बधाई!



